ताप्लेजुङः कोरोना महामारीका कारण दुई महिनादेखि उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमास्थलमा नेपाल वायु सेवा निगमले आजदेखि नियमित उडान सुरु गरेको छ ।

आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ । ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पुन फुङ्लिङ बजार फर्किएको लिम्बूले बताए ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थलले जनाएको छ । तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ सात हजार एक सय ९० भाडा शुल्क तोकिएको विमानस्थलले जनाएको छ । निगमले ताप्लेजुङदेखि विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । -रासस