केराबारीः मोरङको केराबारी गाउँपालिका ३ देउराली टोलमा यतिबेला स्थानीयमा खुशीको सिमा छैन ।
गाउँका मानिसहरु खेतबारीमा व्यस्त रहेका बेला देउराली टोलका स्थानीयवासी भने आफ्नो गाउँमा ४० वर्षपछि खानेपानी आएसंगै पानी व्यवस्थापन गर्न व्यस्त देखिएका छन् । केराबारी गाउँपालिकाको वडा नं. ३ को कुवापानी आधारभूत विद्यालयदेखि उत्तर चुरेक्षेत्रसँगै जोडिएको झण्डै २५ घरपरिवार रहेका देउराली बस्ति टोलवासीले वर्षौदेखि पानीको समस्या भोग्दै आएका छन् । हिउँदमा गाउँदेखि टाढाबाट र वर्षायाममा कुवा र आकासे पानीको भरमा पानीको समस्या टार्दै आएका उनीहरुले अव पिउन ेपानीको सहज आपूर्ति भएसँगै खानेपानीको समस्याबाट मुक्त हुने आशा पलाएको बताएका छन् । २ वर्षदेखि निरन्तर श्रमदान गर्दै आएका देउराली टोलवासीले बस्तिदेखि झण्डै ४,५ किलोमिटर उत्तर बडहरे,छतिवन र गडमे खोलाबाट पानीको श्रोत पहिचान गरी शुक्रबारदेखि पर्यटकिय क्षेत्रमा ४० एमएमको पाइपमा पानी खसालेका हुन । ढिलै भएपनि वर्षायाममा पनि सङ्लो र हिउँदको समयमा पनि नसुक्ने गडमे खोल्साको जरुवा पानी ल्याउन सफल भएसँगै स्थानीयमा खुसी पलाएको छ । आफनो टोलमा चुनावताका धेरै नेताहरुले घरघरमा धारा जोडिदिने आश्वासन दिएका थिए ।
तर निर्वाचनको समयमा दिएको त्यो वाचाले ढिलै भएपनि सार्थकता पाएको छ । पिउने पानीबाट काकाकुल बनेका देउराली टोलवासीले २ वर्षदेखि लगातार गरेको अथक मेहनत र परिश्रमसंगै पिउने पानी ल्याउन सफल भएका छन् । ‘टोलमा पानी ल्याई पुर्याउन सफल भयौंँ, विद्यार्थीलाई विद्यालय पठाउन, पशुपालनसँंगै घरायसी कामकाजमा सहज हुने भयो ।’, किटे सानु हचुवा संयुक्त खानेपानी समितिका पूर्वअध्यक्ष बुद्धमाया लिम्बूले भनिन् । पानीको दिगो समाधान कसरी गर्न सकिन्छ भनेर देउराली टोलवासीले ४,५ वर्ष अघि देखि विभिन्न संघर्ष गर्दै आएपनि पानीको श्रोतसंगै आर्थिक अभावमा समस्या भोगिरहेका थिए । व्यवस्थापनका लागि २ वर्ष अघि केराबारी ३ सानो हचुवाका पुष्प सार्की, प्रकास सार्की लगायतको टिमले केराबारी ३ को माथिलो हचुवासम्म पानी ल्याउन सफल भएका थिए । पछि बुद्धमाया लिम्बुको अध्यक्षतामा संयुक्त खानेपानी समिति गठन गरी झण्डै २ हजार मिटर पाइप जडान गरि किटे सम्म पानी ल्याएर छाडिएको र चालु वर्षमा हरि लिम्बूको अध्यक्षतामा समिति गठन गरी गाउँपालिकाकाले २हजार पाइप उपलब्ध गराएपछि स्थानीयले २ दिनमा पाइप लाइन विस्तार गरेका थिए । स्थानीयको सक्रियता देखेपछि गाउँपालिकाका उपाध्यक्ष लिम्बूले र अध्यक्ष कार्कीले ४० एमएमको थप ४५० मिटर पाइप उपलब्ध गराएपछि पानी गोलग्राउण्ड सम्म आएको हो ।
पानी झरेको स्थानबाट देउराली टोलवस्ती सम्म अझै १ हजार पाइप विस्तार गर्नुपर्ने आवश्यक्त रहेको छ । केराबारीको पर्यटकिय क्षेत्र केराबारी भिउ डाँडा सम्म त पानी आयो घरघरमा पानी पुर्याउन अझै समस्या छ । टोलवस्तीमा सम्म पानी पुर्याउँन अझै १ हजार मिटर पाइप आवश्यक देखिएको छ । त्यो पाइप पनि गाउँपालिकाबाट उपलब्ध हुनेमा देउरालीवासी आसावादी रहेका छन् खानीपानी उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बूले बताए । पानी संकलन गर्न रिजर्व ट्याङक निर्माण गर्नुपर्ने आवश्यकक्ता देखिएको छ । ट्याङकी निर्माण नहुञ्जेल सम्म पिउने पानीको आपूर्ती सहज बनाउन १ हजार पाइप आवश्यक रहेको लिम्बूले बताए । त्यसो त पर्यटकीय क्षेत्र देउराली टोलस्थित गोलग्राउण्डमा पानी झरेसँगै वडा नं.३ का वडाध्यक्ष भक्त श्रेष्ठ सचिव अर्जुन चौहान लगायतको टिम पनि स्थलगत निरीक्षणका लागि सो ठाउँमा पुगेको थियो । पानीको व्यवस्थापनसँगै पर्यटकीय क्षेत्रमा पनि मानिसको आवागमन बढ्ने वडाध्यक्ष श्रेष्ठले बताए ।