ओखलढुङ्गाः ओखलढुङ्गाकी एक जना गर्भवतिको उद्धारमा हेलिकप्टर प्रयोग गर्नु परेको छ ।

खिजीदेम्बा गाउँपालिका–५ की २६ वर्षीया ल्हमु शेर्पाको उद्धार नेपाली सेनाको हेलिकप्टरमार्फत गरिएको हो । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि उद्धार गरेर थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ । ३६ साताकी गर्भवति रहेका शेर्पालाई केही दिनअघि प्रसव पीडा सुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतिमा मानसिक समस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे कोभिड अस्पतालमा ल्याएको थियो ।

गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए । सार्वजनिक सवारी नचलेको र गर्भवतिको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उनको अहिले काठमाडौँको थापाथली प्रसूति गृहमा उपचार भइरहेको छ । -रासस