इटहरीः जेठाजुलाई बोका अनुदान दिएर विवादमा तानिएकी सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ की वडा सदस्य लक्ष्मी चौधरी आफूले गरेको अनियमितता ढाकछोप गर्न कम्मर कसेर लागिपरेकी छन् ।

आफैले स्वयम् गल्ति गएको कुरा सार्वजनिक रुपमा स्वीकार गरिसकेकी उनले छानबिनको विषयलाई विषयान्तर गर्न मिडियाबाजी गर्दै अनियमितता ढाकछोप गर्न खोजेकी हुन् । स्थानियवासीले स्पष्टिकरणसहित राजीनामा माग गरेपछि अनियमितता भएको आरोप लागेका विषयहरुको पारदर्शिता सार्वजनिक गर्न छानबिन समिति गठन भएपछि चौधरीले ढाकछोप गर्न लागिपरेको बकलौरीका स्थानीयले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयवासीले भने, ’लक्ष्मीले सार्वजनिक रुपमै सबैको अगाडि गल्ति गरेको पटक–पटक स्वीकार गरिसकेकी छन् । त्यसरी आफैले स्वीकार गरेको, गलत गरेको भनेर सबैले भनिरहेको विषयलाई विषयान्तर गर्न अनेक हत्कण्डा सुरु गरिसकिछन् । गलत त गलत हो नि । छोप्दैमा छोपिन्छ र ?’ गत असार ४ गते स्थायिनवासी र असार ८ गते नेपाल तरुण दल वडा कार्य समितिले वडा सदस्य लक्ष्मी चौधरीले वडाको बजेटमा मनोमानी गरेको भन्दै राजीनामा माग गरेपछि वडा कार्यालयले असार १२ गते नगर प्रमुख जयप्रकाश चौधरीको उपस्थितीमा वडा सदस्य लिलिया सदाको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, केही दिन नबित्दै चौधरीले आफूमाथि लागेको आरोपको विषयमा छानबिन समितिलाई सघाउनुको सट्टा आफूमाथि लागेको आरोप झुटो भएको भन्दै उनले प्रेस विज्ञप्ति निकालेकी छन् ।

ह्यूमपाइपको विषयमा चौधरीको ३ फरक जवाफ
गएको असार ४ गते स्थानियवासीलाई आफुले घरमा प्रयोग गरेको ह्यूमपाइप वडा अध्यक्षलाई सोधेर लगाएको स्वीकार गरेकी उनले नगर प्रमुख जयप्रकार चौधरीको उपस्थितीमा भएको छलफलमा चौधरीले ह्यूमपाइपको विषयमा आफूले गल्ति गरेको स्वीकार गर्दै उक्त ह्युमपाइपको रकम तिर्ने प्रतिबद्धता जनाएकी थिइन् । तर, पछिल्लो समय उनले आफूले सडक डिभिजनबाट ल्याएर प्रयोग गरेको दाबी गर्न थालेकी छन् ।

’झोले किसानलाई मात्र थाहा हुन्छ बोका बिरामी हुँदा के गर्ने भन्ने जेठाजुलाई हैन’
वडाले स्थानीय किसानका लागि वितरण गर्न ल्याएको ’बिउको बोका’ को विषयमा वडावासीहरुले आफन्तलाई दिएको भन्दै सार्वजनिक रुपमा उनीमाथि केरकार गरेपछि सो विषयमा वडाले मापडण्ड पुगेका किसानलाई दिएको र वडाका सबै जनता आफन्त नै भएको भन्दै चौधरीले संजोगवश आफ्नो जेठाजुलाई परेको दाबी गरेकी थिइन् । उनले ’बिउको बोकाको बिमा नगरेको र जेठाजुले बोका बिरामी भएपछि माया लागेर काटेर खाएको’ उल्लेख गरेकी थिइन् । पछिल्लो समय भने झोले किसानलाई बोका बिरामी भएमा काटेर खानु हुन्न भन्ने थाहा हुने र वास्तविक किसानलाई यस विषयमा थाहा नहुने भएकाले काटेर खाएको चौधरीले बताइन् । राहतको विषयमा चौधरीले अन्यलाई वितरण गरेर बाँकी रहेको राहत सामग्री आफूसँग ६ सय ७० किलो चामाल मात्र रहेको बताइन् । तर वडाको रेकर्डमा भने एक हजार एक सय ९५ किलो चामल रहेको छ । यस विषयमा आफुलाई थाहा नभएको बताइन् ।

चौधरीमाथि सरकारी ह्यूमपाइप घरमा प्रयोग गरेको, मैनीमा प्रदेश सरकारको १० लाख र वडा कार्यालयको ५ लाख गरी जम्मा १५ लाख रुपैयाँमा बनेको ट्रस पुलको काम पूरा नभएको र गुणस्तरहिन सामान प्रयोग गरेको, कृषकका लागि अनुदानमा आएको धानको बिउ बिक्री गरेको, अनुदानमा आएको उन्नत जातको बिउको बोका जेठाजुलाई दिएको, विकास निर्माणको काममा आफ्नो श्रीमानलाई अध्यक्ष बनाएको, मर्मत सम्भार समितिको अध्यक्षमा श्रीमानलाई अध्यक्ष बनाएको, विपन्न परिवारका लागि आएको राहत सामग्री मनोमानी ढंगले आफूले रुचाएका व्यक्तिहरुलाई वडा कार्यालयलाई कुनै जानकारी नगराई वितरण गरेको लगायतका आरोप लागेका छन् ।

छानबिन समितिमा पराजित सदस्यहरुलाई राखेको चौधरीको आरोप
आरोपका संदर्भमा वडा सदस्य लिलिया सदा संयोजक, सदस्यहरुमा पुष्प प्याकुरेल, दिनेशकुमार श्रेष्ठ, मीना शेर्पा, चन्द्रबहादुर थिंङ, रेवतराम गुरुङ्ग, ललिता देउजा, वडा नम्बर ६ का वडा सचिव नन्दकुमार श्रेष्ठ रहेको छानबिन समिति छ । तर, उनले यो समिति आफूलाई चित्त नबुझेको बताउँछिन् । उनले चुनावमा पराजित सदस्यहरुलाई छानबिन समितिमा राखेकाले प्रतिशोध साध्ने काम हुन सक्ने भएकाले माथिल्लो निकायबाटै निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर छानबिन गर्नुपर्ने माग गरेकी छन् ।