इटहरीः राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाई ओखलढुंगामा कार्यरत एक जना सव इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सब इन्जिनियर राजन पासवान रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार घुस माग गरेको भनी सेवाग्राहीले गरेको उजुरीका आधारमा आयोगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले अभियुक्त पासवानलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । असार १५ गते पक्राउ गरी १६ गते आयोगसमक्ष पेस गरिएका अभियुक्तउपर आवश्यक कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।