इटहरीः मोरङको रतुवामाई नगरपालिका ९ स्थित भौडा चौकमा भारतबाट भन्सार छली ल्याउँदै गरेको चिनी र बिस्कुटसहित गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो २ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको को २ च १०९ नम्बरको पिकअप गाडीमा चिनी एक हजार आठ सय किलो र भारतीय कम्पनीका बिस्कुट १८ कार्टुन फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त सामानहरु भन्सार छली गरी ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ वर्षीय विकास लिम्बू सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।