इटहरीः गएको शनिबार मध्यरातिबाट परेको अविरल वर्षसँगैको बाढीले सुनसरीको इटहरी र आसपासका क्षेत्र पनि डुबानमा परे ।
सोही दिन आएको बाढीका कारण दैनिक ‘प्लाष्टिक’का सामग्री बेचेर आफू र परिवारको दैनिकी चलाउँदै आएका दुई दर्जन बढीको बिचल्ली भएको छ । मोरङको सुन्दरहरैँचा वडा नम्बर ५ स्थित बलियामा बस्दै आएका सन्तोषकुमार कुचवन्दीयासहित २२ जनाको बिचल्ली भएको हो । भारत घर बताउने उनीहरुमध्ये केहीले मात्र नेपाली भाषा बोल्छन् र बुझ्छन् । करिब दुई महिनाअगाडिदेखि बलियामा जस्तापाताको छाप्रोमुनि भूइँमा त्रिपालको ओछ्यान बनाएर बस्दै आएका उनीहरुको बाढीले ओछ्यान नै बगाएको छ । ‘भात खाने पैसा छैन हजुर’, सन्तोषले भने, ‘सामान बेच्न पनि लकडाउन छ बेच्न पाइँदैन भन्छ ।’ अगाडि उनले थपे, ‘दुई महिनादेखि यहाँ बस्दै आएका थियौँ । बाढीले त्यो पनि बगाइदियो अब कहाँ बस्ने ? के खाने ? ‘टेन्सन’ छ ।’
उनीहरुमध्ये १० जना पूरुष रहेका छन् । पुरुषले बाटा बेचेर कमाएको पैसाले नै उनीहरुको रोजीरोटी चल्थ्यो । अहिले त्यो पनि ठप्प भएको छ । अझै शनिबारको बाढीले त उनीहरुको बासस्थान पनि बगाएको छ । अहिले उनीहरु नजिकै एक जना स्थानीयले बस्ने ठाउँ दिएकाले त्यहीँ आश्रय लिइरहेका छन् । बाढीले उनीहरुको खाद्यान्न र लत्ताकपडा पनि बगाएको छ । विशेषगरी स–साना बालबच्चालाई मार परेको उनीहरु बताउँछन् । कसैले सके आफूहरुलाई सहयोग गर्न उनीहरुले माग गरेका छन् । यस्तै उनीहरुले बिक्री गर्ने प्लाष्टिकका सामान पनि बाढीले बगाएको छ ।