सर्लाहीः सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिकाले नगरभित्र पक्की सडक बन्नलाई झण्डै दुई दशक प्रतीक्षा गर्नु परेको छ ।
मलङ्गवामा झण्डै दुई दशकपछि पक्की सडक निर्माण सुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नम्बर ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण सुरु भएको हो । करिब एक हजार सात सय मिटर लम्बाइमा दुवैतर्फ डेढ÷डेढ मिटर नाला तथा १३ मिटर आरसिसी ढलान रहने गरी जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण सुरु भएपछि मलङ्गवावासी खुशी भएका छन् ।
केन्द्र सरकारअन्तर्गत रहेको शहरी विकास मन्त्रालयको १० करोड बजेटबाट उक्त सडकको निर्माण सुरु भएको मलङ्गवा नगरपालिकाले जनाएको छ । यसअघि ४२ मिटर चौडाइको सडक बनाउने योजना रहेको भए पनि सयौँ स्थानीय बासिन्दाको घर पूर्णरूपमा क्षति हुने र सडक पनि नबन्ने भएपछि नगरपालिकाको बोर्डको बैठकको निर्णयानुसार १५ मिटर चौडाइको सडक बनाउन लागिएको नगरप्रमुख निरसल साहले बताए । -रासस