इटहरीः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको उपसचिव दर्जामा रही श्रम तथा रोजगार कार्यालय विराटनगरको प्रमुखका रुपमा तीन वर्षअघि नियुक्ति पाएका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् ।

४० वर्ष ६ महिना सरकारी सेवामा बिताएका सञ्जेलले ५८ वर्षे उमेर हदका कारण असार १५ गते नियमित अवकाश पाएका हुन् । सञ्जेल आफ्नो भ्रष्टाचारविरोधी अडान र अभियानका कारण आफ्नो कार्यकालभर चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा सरुवा भएर आएका सञ्जेललाई सचिवस्तरीय निर्णय गरी त्यस कार्यालयबाट तत्कालै अन्यत्र सरुवा गर्ने प्रयास गरियो । तर तीन वर्षसम्म कुनै पनि कर्मचारीलाई बिनाकारण सरुवा गर्न नसकिने निजामति सेवा ऐनको प्रावधानलाई आधार बनाई सञ्जेलले सरकारका विरुद्ध मुद्दा चलाए । अन्ततः सर्वोच्च अदालतले उनकै पक्षमा फैसला गरेपछि सञ्जेलले पूरा अवधि श्रम कार्यालय मोरङको प्रमुखका रुपमा काम गरी सोही कार्यालयबाट अवकाश पाएका हुन् । त्यसअघि क्षेत्रीय निर्वाचन कार्यालय विराटनरको प्रमुखका रुपमा काम गरेका सञ्जेलविरुद्ध हाजिर नगरी तलब बुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दासमेत चलाएको थियो । तर, सो मुद्दामा अदालतले तलब भुक्तानी कानूनसम्मत रहको भन्दै सञ्जेललाई निर्दोष ठहर गर्यो । आफ्नो दुई वर्षे सेवाका क्रममा श्रम कार्यालय मोरङका १९ जना भ्रष्ट कर्मचारीलाई उनले बर्खास्त गरेका थिए ।

यसैगरी, सोही अवधिमा सञ्जेलले तीन करोड १० लाख रुपैयाँ ठगहरुबाट असुलउपर गरी पीडितलाई बुझाएका छन् भने उनकै फैसलाका आधारमा एक सय १० जना ठगी कसुरका अभियुक्त हिरासतमा पुगेका थिए । यसैगरी, २०६३–०६४ मा उनी पशु सेवा विभागमा कार्यरत थिए । अनुदानको रकममा भ्रष्टाचार देखिएपछि २३ जना स्थायी कर्मचारीलाई जागिरबाट हटाइदिएको उनले बताए । ​२०३९ साल फागुन ३ गते खरिदार हुँदै निजामती सेवा प्रवेश गरेका सञ्जेल २०४६ साल असार २७ गते नायबसुब्बामा बढुवा भए । २०५४ साल कात्तिक १२ गते शाखा अधिकृत भएका सञ्जेल २०६६ साल कात्तिक २९ गते उप–सचिवमा बढुवा भएका हुन् । कर्मचारीतन्त्र भ्रष्ट बन्दै गएको भन्दै बढुवा प्रक्रिया बहिस्कार गरेका कारण उपसचिवबाटै उनले अवकाश पाएका हुन् । अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण तथा अवकाश प्रक्रियाका क्रममा काठमाडौँ पुग्नैपर्ने बाध्यताका कारण सरकारी कोषमा व्ययभार परेको भन्दै उनले अवकाश प्रक्रिया जिल्लाबाटै सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् । ४० वर्ष लामो सेवाअवधि पूरा गरी अवकाश लिँदासम्म आफूले कुनैपनि उल्लेखनीय सुधार गर्न नसकेको भन्दै सञ्जेलले सामाजिक सञ्जाल फेसबुकमा आफैँलाई असक्षम भन्दै धिक्कारेका छन् । उनले फेसबुकमा लेखेका छन्–
“थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामति सेवा, मेरो नेता, कर्मचारी र म ।”