धरानः सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सूर्यकुमार राईको निधन भएको छ ।
राईको हिजो अपराहन्न ४ः०० बजे इटहरी २० तरहरास्थित आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । चुहिएको पानीमा चिप्लिएर लड्दा राईको मृत्यु भएको स्थानीयको भनाइ छ । यद्यपि, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । मृतकको शव मुचुल्का उठाएर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृहमा लगिएको छ । मृतक राई श्रीमतिको साथमा घरमा बस्दै आएका थिए । उनका २ जना छोरा बुहारी अमेरिकामा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । उनका एक छिमेकीका अनुसार पाइपबाट पानी लिकेज भएपछि हेर्न जाने क्रममा घरको तेस्रो तला (छत)बाट चिप्लिएर खसेको र घटनास्थलमा नै उनको मृत्यु भएको हो ।
‘पाइप हेर्न जाने क्रममा चिप्लिएर खस्नुभएछ, टाउको पछाडि भुर्इँमा बजारिएछ,’मोबाइल सम्पर्कमा छिमेकीले भने । राई नागरिक समाज तरहराका पूर्वअध्यक्ष, भूमिसम्बन्धी समस्या समाधान आयोग सुनसरी जिल्ला समितिका विज्ञ सदस्य तथा नेकपा एमालेका स्थानीय नेतासमेत थिए । लामो समयदेखि प्राध्यापन पेसामा संलग्न राईले इटहरीको जनता बहुमुखी क्याम्पसमा पनि अध्यापन गरेका थिए । अध्यापनका क्रममा कक्षामा रमाइलो शैलीमा प्रस्तुति दिने राईले पढाउने बेलामा थेगोका रुपमा ‘गाँठे’ भन्ने शब्द बोलिरहने हुँदा जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरु राईलाई ‘गाँठे सर’ का रुपमा पनि चिन्ने गर्थे । राई थुप्रै संघ सँस्थाहरुमा सल्लाहकारका रुपमा आबद्ध रहेका थिए ।