इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित पुर्व पश्चिम राजमार्गमा अवैध लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्लाको जोगवनी १० घर भई हाल मोरङको विराटनगर १० बरगाछिमा डेरा गरी बस्ने ३४ वर्षीय सुरज चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले बताए । उनका अनुसार हिजो दिउँसो साढे १ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टेम्पोमा पछाडि सवार रहेका चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर ८४ ग्राम बरामद गरेको छ । पक्राउ परेका चौधरीउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।