इटहरीः ओछ्यानमामा सुतिरहेकी श्रीमतिलाई मुङ्ग्रोले हानेर मोरङको बेलबारीका श्रीमान्ले हत्या गरेका छन् ।
बेलबारी नगरपालिका–७ बाहुनीका ५४ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिएका छन् । उनले शनिवार(आज) विहान ओछ्यानमा काठको मुङ्ग्रोले हानेर श्रीमतिको हत्या गरेका हुन् । बिहान ५ बजेतिर घरभित्र ओछ्यानमा महिला मृत भेटिएको खवर आउनसाथ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी तथा ब्ल्याङ्केटमा रगत लागेको र घोप्टो परेको अवस्थामा शव फेला पारेको हो । सिरानीले छोपेको अवस्थामा कपालसमेत लागेको मुङ्ग्रो पनि फेला परेपछि घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी घरमा पुग्दा श्रीमतीसँग एउटै ओछ्यानमा सुतेका अम्बिका भने थिएनन् ।
प्रारम्भिक अनुसन्धानबाट बिहानका राति साढे दुई बजेतिर काठको मुङ्ग्रोले हानेर एउटै ओछ्यानमा सुतेकी श्रीमतीको हत्या गरेर फरार बनेको डीएसपी मुकारुङले जानकारी दिएका छन् । अम्बिकालाई लुकिछिपी बसेको अवस्थामा गाउँबाटै पक्राउ गरेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खोटाङ घर भएको घिमिरे परिवार छ वर्षअघि मात्रै बसाइँ सरेर बाहुनी आएको वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिए । भारतको आसाम पुगेर फर्किएको भन्दै परिवारबाट सम्पर्कविहीन बनेको निक्कै लामो समयपछि अम्बिका आएका थिए । लामो समयपछि अम्बिका दुई वर्षअघि मात्रै परिवारको सम्पर्कमा आएरसँगै बस्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।