कृष्णमान चौधरी
उदयपुरः उदयपुरको तपेश्वरीमा लगातार वर्षाका कारणले डुबान भएको छ ।
हिजो रातिदेखि नै अविरल वर्षाका कारणले बेलका नगरपालिका वडा न १ र २ को विभिन्न स्थानमा बाढी पहिरोले जोखिम भएको हो । बेलका न.पा. वडा १ का बल्ही , पुरन्दह लगायतका गाउँ खरेरी खोलाको बाढीले जलमग्न भएका छन् । बाढी घरमा पस्दा धान, चामल लगायतका खाद्यान्न, गाई ,बाख्रा, भैंसी, राँगा, सुङ्गुर लगायतका अन्य जनावरहरु लाई बचाउनसमेत मुस्किल भएको छ ।
त्यसैगरी, बेलका नगरपालिका वडा न २ का करहिया बेल्हा, गल्फडिया, पारुहाङ्ग चोक, धाराखोला लगायतका विभिन्न स्थानहरुमा बाढीको कारणले जनजीवन प्रभावित भएको छ । सो स्थानहरुमा रङ्गिया खोला, सीताराम खोला, धाराखोला, चौरी खोलाजस्ता खोलाहरुले दुःख दिएको स्थानीय वन्दना काफ्लेले बताइन् । पूर्वबाट कोसी नदीको भंगालो र पश्चिमबाट त्रियुगा नदी र उत्तरबाट अनगिन्ति खहरे खोलाहरुले गर्दा स्थानीय बासिन्दाहरुलाई प्रभावित पारेको छ । बेलका १ र २ मा सुरक्षित नरहेको पानी पर्दा कुनै समयमा पनि बाढी आउने हुँदा ज्यानको समेत सुरक्षा गर्न नसकिने स्थानीयवासीहरुले दुखेसो पोखेका छन् ।