खोप लगाएपछि देखिने साइड इफेक्ट हरेक मानिसमा फरक–फरक हुने गर्छ ।

कुन खोप लगाएको हो, उमेर, लिङ्गका आधारमा पनि देखिएका साइड इफेक्ट फरक हुन सक्छन् । वृद्ध उमेर समूहमा मानिसको तुलनामा युवा उमेर समूहमा खोपको साइड इफेक्ट बढी देखिने बताइएको छ । बेलायतको एक अग्रणी विश्वविद्यालयले खोपको प्रभावमा हालसालै गरेको परीक्षणमा उमेरको आधारमा सबैभन्दा धेरै रेकर्ड गरिएको साइड इफेक्ट सार्वजनिक गरिएको छ । जवान वा युवा उमेर समूहमा शरीरको प्रतिरक्षा प्रणाली बलियो हुने हुन्छ । जसकारण ५० वर्षभन्दा कम उमेरका मानिसमा रोगको जोखिम कम हुन्छ । तर, स्वस्थ र सक्रिय रूपमा काम गर्ने प्रतिरक्षा प्रणाली भए पनि युवामा खोप लगाएपछि अधिक तीव्र साइड इफेक्ट देखापर्न सक्छ । जसकारण खोप लगाएका युवा ६५ वर्ष वा सोभन्दा माथि उमेरका मानिसमा भन्दा पनि धेरै थलित हुन सक्छन् । युवा उमेरमा (विशेषगरी महिलामा) खोप लगाएपछि केही असामान्य लक्षण देखिने सम्भावना हुन्छ ।

जसमा वाकवाकी लाग्ने, पेट दुखाइ हुने, महिनावारीको चक्रमा अस्थायी परिवर्तन देखिने हुनसक्छ । त्यस्तै, फ्लूजस्तो लक्षण, मुटुको धड्कन बढ्ने, कमजोरी, दुखाइ युवामा अधिक देखिने सामान्य साइड इफेक्ट हुन् । खोप लिने केही युवाले थकान, ज्वरो, रुघाखोकी, जोर्नीको दुखाइ, ढाड दुखाइ आदि लगायत गम्भीर साइड इफेक्ट पनि अनुभव गर्न सक्छन् । उमेर बढेसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ र पहिला जस्तै यसले काम गर्न सक्दैन । खोप इन्जेक्ट गरेपछि, प्रतिरक्षा कोषहरू प्रतिक्रियाका लागि हतार गर्छन् तर बढ्दो उमेरको साथ यसले ढिलो प्रतिक्रिया दिने हुँदा युवा उमेर समूहका मानिसको तुलनामा बढी उमेरका मानिसमा हल्का साइड इफेक्ट देखाउने हुन्छ । ६५ वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिमाथि भएको ट्रायलमा पनि सोही प्रकारको नतिजा देखिएको थियो ।

अनुसन्धानका अनुसार वृद्ध उमेरका मानिसमा रेकर्ड गरिएको सबैभन्दा सामान्य साइड इफेक्टमा इन्जेक्सन गरिएको साइटमा दुखाइ हुने, रातो हुने, सुन्निने, शरीरमा दुखाइ हुने तथा थकान समावेश छन् । खोप लगाएकामा साइड इफेक्टको रूपमा ज्वरो निकै कम देखिएको थियो । खोप लगाएपछि कुनै पनि साइड इफेक्ट नदेखिन वा देखिए पनि थाहा नभएको पनि हुन सक्छ । साइड इफेक्ट नदेखिँदा पनि खोपले आफ्नो काम राम्रोसँग गरिरहेको हुन्छ । -टाइम्स अफ इन्डियाबाट