इटहरीः रातभरको अविरल वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाहरु डुबानमा परेका छन् ।

नाला निकासको उचित प्रबन्ध उपमहानगरपालिकाले गर्न नसक्दा एक रातको वर्षा पनि इटहरीका लागि कहर बन्न पुगेको छ । स्थानीय सरकारले वर्षेनी नदी नियन्त्रण, प्रकोप व्यवस्थापनजस्ता शीर्षकमा बजेट विनियोजन गर्दै आएपनि इटहरीका बासिन्दा वर्षौँदेखि डुबानको समस्याबाट पीडित बन्नु परेको छ । स्थानीय सरकारले सम्भावित क्षतिको मूल्याङ्कन गरी दीगो संरचना निर्माण नगरेकै कारण हरेक वर्ष बाढीका कारण सर्वसाधारणको उठिबास लाग्ने समस्या दोहोरिँदै आएको हो । इटहरीका भित्री क्षेत्रहरुमा उपमहानगरपालिकाले योजनाबद्ध रुपमा बाढीको समस्या निराकरण गर्ने काम गर्न सकेको छैन । उता, संघीय सरकारले निर्माण गरिरहेको रानी किमाथाङ्का जोड्ने कोसी राजमार्गको निर्माण समयमा सम्पन्न नहुँदा बजार क्षेत्र जलमग्न हुन पुगेको छ ।  सरकारले यथेष्ट बजेट विनियोजन गरेपनि कार्यान्वयन तहमा बसेका निकायको लापरबाहीका कारण बन्नुपर्ने संरचना बन्न नसक्नु नै डुबानको मुख्य कारणका रुपमा देखिएको छ । कल्भर्ट निर्माण गर्नुपर्ने ठाउँमा ह्युमपाइप राख्नेजस्ता झारो टार्ने कामले गर्दा वर्षेनी डुबानको समस्या झेल्नुपरेको हो ।

यसैबीच, प्रदेश १ का प्रदेशसभा सदस्य सर्वध्वज साँवाको घर पनि वर्षाको पानीले जलमग्न भएको छ । सामाजिक सञ्जाल फेसबुकमा घर जलमग्न भएको तस्बीर राख्दै उनले आफू नै जनप्रतिनिधि भएपछि कोसँग गुहार माग्ने भन्दै आफैँमाथि कटाक्ष गरेका छन् ।

duban1 duban2 duban11 duban14 duban16 duban20 duban8 duban5 duban4 duban13 duban12 duban9 duban7 duban17 duban21 duban10 duban19 duban3 duban18