इटहरीः चीनको स्वशासित क्षेत्र ताइवानको हङकङमा कार्यरत नेपालीहरुको संगठन हङकङ नेपाली महासंघले गम्भीर लक्षण भएका कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ ।

ती कन्सन्ट्रेटरहरु प्राथमिक स्वास्थ्य केन्द्रहरुमा वितरण गरी संक्रमितको उपचारमा प्रयोगमा ल्याइने महासंघकी निवर्तमान अध्यक्ष रिता गुरुङले बताइन् । हङकङस्थित नेपाली महावाणिज्यदूतको कार्यालय, हङकङ सरकार, चिनियाँ दूतावास र त्यहाँस्थित गैरसरकारी संस्था सोअर्स एक्सनको संयुक्त पहलमा कन्सन्ट्रेटर उपलब्ध गराइएको गुरुङको भनाइ छ । उनले भनिन्, महासंघलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएकोमा सवै एकै पटक नेपाल पठाउने प्रयास गरेका थियौं तर एयर कार्गो समस्याले पहिलो चरणमा सयथानमात्र पठाउन सकिएको छ । नेपालमा छिटो भन्दा छिटो ती सामान पठाउने प्रयास जारी छ । बाँकी सयथान दुइतिन भित्रमा पठाउने छौं । आफूहरु नेपालको जहाजको पर्खाइमा रहेको उनको कथन छ । हाल उपलब्ध भएका कन्सन्ट्रेटरहरु कर्णाली प्रदेशका जिल्लाहरुमा वितरणको तयारी गरिएको गुरुङले जानकारी दिइन् ।

चीनको कुनमिन शहरमा एक सय ५० अमेरिकी डलर प्रतिगोटाको दरमा खरिद गरिएका कन्सन्ट्रेटर एउटै ३० किलो तौलको हुने हुँदा एयर कार्गोमार्फत् नेपाल ल्याउन नसकिएको हो । अर्को चरणमा गैरसरकारी सँस्थाहरुकै सहकार्यमा एक लाख एन्टिजेन परीक्षण किटसमेत नेपाललाई प्रदान गरिने गुरुङले उल्लेख गरिन् । नेपालका सबै ७७ जिल्लामा कम्तिमा एउटा अक्सिजन कन्सन्ट्रेटर पुर्र्याउने आफूहरुको लक्ष्य रहेको महासंघका पूर्वअध्यक्ष प्रदीप थापाले बताए । महासंघका वर्तमान अध्यक्ष टंक रानाका अनुसार महासंघले कन्सन्ट्रेटर ढुवानीका लागि ट्रकसमेत आफैँले व्यवस्था मिलाएको हो । कन्सन्ट्रेटरको क्षमता प्रतिमिनेट १० लिटर अक्सिजन प्रवाह गर्न सक्ने रहेको छ ।