सोल\सिड्नी: कोरोना भाइरसको नयाँ र तिव्र संक्रामक डेल्टा भेरियन्ट यो साता एसियामा तिव्र रुपमा फैलिएको छ ।

अस्ट्रेलिया र दक्षिण कोरियामा संक्रमित संख्याको उच्चतम रेकर्ड कायम गर्दै केही देशलाई नियन्त्रणको मापदण्डमा कडाइ गर्न र अन्यलाई यथासिघ्र खोपको व्यवस्था मिलाउन यो भाइरसले झकझक्याएको छ । गत वर्षको डिसेम्बरमा भारतमा फेला परेको डेल्टा भाइरस हालसम्म विश्वका एक सय देशहरुमा विस्तार भइसकेको छ भने विश्व स्वास्थ्य संगठनले निकट भविष्यमै यो भाइरस अन्यभन्दा बढी आक्रामक बन्नसक्ने चेतावनीसमेत दिएको छ । आसन्न ओलम्पिक खेललाई प्रभावित पार्नेगरी जापानमा पनि डेल्टा भाइरसको संक्रमण बढ्दै गइरहेको छ । अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको न्यु साउथ वेल्स राज्यमा संक्रमणको विस्तार तिव्र भएको छ ।

शुक्रबार मात्र दुई सय संक्रमित फेला परेकोमा त्यहाँका अधिकांश संक्रमित डेल्टा भेरियन्टबाट ग्रस्त रहेको पाइएको थियो । देशको कुल दुई करोड पचास लाख जनसंख्यामध्ये पचास लाख जनसंख्याको बसोबास रहेको सिड्नीमा दुई साता लामो लकडाउनका बाबजुद संक्रमण दरमा भएको तिव्र वृद्धिले अधिकारीहरुलाई देशमा जारी सुस्त खोप अभियानप्रति चिन्तित बनाएको छ । ‘ खोप अभियानले संक्रमणमा गिरावट ल्याउने कुरामा म विश्वस्त छु । यसले निश्चय नै अस्पताल भर्ना हुने दरमा कमी आउनेछ । तर, खोप नलगाएका मानिसमा भाइरसको संक्रमण जारी नै रहनेछ’, फ्लिन्डर्स विश्वविद्यालय अन्तर्गतको कलेज अफ मेडिसिन एन्ड पब्लिक हेल्थकी प्राध्यापक तथा भाइरोलोजिस्ट (सुक्षम जिवशास्त्री) जिल कारले भनिन् ।

एसियाका अन्य देशहरुजस्तै अस्ट्रेलियाले पनि खोप अभियानलाई तिव्रता दिएर संक्रमण नियन्त्रणमा सुरुवाति सफलता पाएपनि खोप उत्पादनकर्ता कम्पनीहरुले खोप उत्पादनमा ढिलाइ गर्दा विस्तार पुनः बढ्न थालेको हो । अस्ट्रेलियाले कुल जनसंख्याको ६ प्रतिशतलाई खोप दिएको छ भने जापानका १२ प्रतिशत नागरिकले खोप पाएका छन् । जापानमा हरेक तीन जना संक्रमितमध्ये एक जनामा डेल्टा भेरियन्ट रहेको रिपोर्ट बुधबार सार्वजनिक भएको थियो । जुलाईको मध्यसम्म डेल्टा भेरियन्टको संक्रमण बढेर ५० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । जापानका टोक्यो र अन्य तीन छिमेकी जिल्लाहरुमा ११ जुलाईसम्म आंशिक संकटकाल लागु गरिएको छ । संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिकस्थलहरुमा प्रतिबन्ध जारी राख्न सरकार लागिपरेको छ । टोक्योका गभर्नर योरिको कोइकीले संक्रमण दर बढिरहेमा जुलाई २३ देखि सुरु हुने ओलम्पिक खेलमा दर्शकको उपस्थितिमाथि प्रतिबन्ध लगाउनु नै उत्तम विकल्प हुने दोहोर्याए । -रोयटर्सबाट