इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले तामाङ इटहरी–३ का अनन्तप्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेको बताए ।
जेष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ । यसैगरी, इटहरी–६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैँचा–३ बाट चोरी भएको नाइट्रोजन ग्यास सिलिण्डरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका दुवै जनाउपर चोरी मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।