इटहरीः १४ जिल्ला रहेको नेपालको सुदुरपूर्वी प्रदेश, प्रदेश नम्बर १ का कुल धान खेतियोग्य जमिनमध्ये १८ दशमलव १५ प्रतिशत धान रोपाइँ सकिएको छ ।
कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले दिएको जानकारी अनुसार प्रदेशका विभिन्न जिल्लामा अहिले धमाधम रोपाइँ भइरहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष केही साता पहिला नै मनसुन भित्रिएकाले उच्च पहाडी तथा मध्य पहाडी जिल्लाहरुमा पनि धमाधम धान रोपाइँ भइरहेको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार प्रदेशमा तीन लाख ४० हजार आठ सय २९ हेक्टर जमिनमा धान खेति हुन्छ । सोहीमध्ये अहिलेसम्म ६१ हजार पाँच सय ४२ हेक्टर जमिनमा धान रोपाइँ सकिएको निर्देशनालयले जानकारी दिएको छ । यो अवधिमा प्रदेशमा मध्य पहाडी जिल्लामा सबैभन्दा धेरै धान रोपाइँ भएको छ । यस्तै उच्च पहाडी र तराईमा तुलनात्मक रुपमा कम रोपाइँ भएको छ ।
उच्च पहाडी जिल्लामा १७ प्रतिशत् रोपाइँ
प्रदेश १ को उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी तीन जिल्लामा १७ प्रतिशत रोपाइँ सकिएको छ । निर्देशनालयले दिएको जानकारी आनुसार ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धानखेति हुने गरेकोमा अहिलेसम्म २२ प्रतिशत अर्थात् १९ सय २२ दशमलव १४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यस्तै संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टरमध्ये १० प्रतिशत अर्थात् १३ सय ८५ दशमल १० हेक्टरमा धान रोपाइँ सकिएको छ । यसैगरी अर्को उच्च पहाडी जिल्ला सोलुखुम्बुमा १५ सय २५ हेक्टरमध्ये २७ दशमलव १६ प्रतिशत् अर्थात् ७ सय ३ दशमलव ९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको निर्देशनालयले जानकारी दिएको छ ।
मध्य पहाडी जिल्लामा २८ प्रतिशत् रोपाइँ
प्रदेश १ को मध्य पहाडी ८ जिल्लाहरु ९० हजार ९ सय १६ हेक्टरमध्ये २५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । प्रतिशतमा हिसाब गर्ने हो भने यो क्षेत्रमा २८ प्रतिशत रोपाइँ सकिएको छ । पाँचथरमा ९ हजार २ सय ३ हेक्टर मध्ये २४ सय ८४ दशमलव ८४ हेक्टर, इलाममा १४ हजार ८ सय १५ हेक्टर मध्ये ३ हजार २ सय ५९ दशमलव ३० हेक्टर, भोजपुरमा १८ हजार ९२ हेक्टरमध्ये ९ हजार ४६ हेक्टर र तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर मध्ये ३ हजार ५ सय ६१ दशमलव २५ हेक्टरमा धान रोपाइँ सकिएको निर्देशनालयले जानकारी दिएको छ । यस्तै धनकुटमा ७ हजार ९ सय ५० हेक्टरमध्ये ११ सय ९२ दशमलव ५० हेक्टर, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर मध्ये १६ सय ५ दशमलव ६० हेक्टर, ओखलढुङ्गामा ४४ सय ३ हेक्टरमध्ये ४ सय ३ दशमलव ०५ हेक्टर र खेटाङमा १२ हजार ८ सय ९८ हेक्टरमध्ये ३८ सय ६९ दशमलव ४० हेक्टरमा धान रोपाइँ सकिएको हो ।
तराईमा १४ प्रतिशत धान रोपाइँ
प्रदेश १ को तराइका तीन जिल्लामा अहिलेसम्म १४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको निर्देशनालयले जानकारी दिएको छ । तराईको २ लाख २५ हजार ८ सय हेक्टर खेतियोग्य जमिनमध्ये अहिलेसम्म ३२ हजार २१ हेक्टर खेतमा मात्र धान रोपाइँ भएको निर्देशनालयले जानकारी दिएको छ । झापामा ८७ हजार ५ सय हेक्टरमध्ये अहिलेसम्म १७ प्रतिशत खेत अर्थात् १४ हजार ८ सय ७५ हेक्टरमा रोपाइँ भएको छ । यस्तै मोरङमा ८३ हजार ३ सय हेक्टरमध्ये १२ प्रतिशत अर्थात् ९ हजार ९ सय ९६ हेक्टर र सुनसरीमा ५५ हजार हेक्टरमध्ये १३ प्रतिशत अर्थात् ७ हजार १ सय ५० हेक्टरमा रोपाइँ सकिएको निर्देशनालयले जानकारी दिएको छ ।