इटहरीः सुनसरीको इटहरीस्थित वराह हार्डवेयरका सञ्चालक तथा हार्डवेयर, प्लाइ तथा सेनिटरी व्यवसायी संघ इटहरीका उपाध्यक्ष हिमाल राउतको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमित भई एक महिनादेखि मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत राउतको ४८ वर्षको उमेरमा आज निधन भएको पारिवारिक स्रोतले बताएको छ । इटहरी ५, पचरुखी घर भएका राउत लामो समयदेखि हार्डवेयर व्यवसाय तथा समाजसेवामा सक्रिय रहेका थिए । व्यवसायी राउतका दुई छोरा र श्रीमति छन् ।
शोक व्यक्त गर्दै हार्डवेयर पसल बन्द
यसैबीच, आफ्ना सहकर्मीको निधनप्रति शोक व्यक्त गर्दै हार्डवेयर, प्लाइ तथा सेनिटरी व्यवसायी संघ इटहरीले आफूसँग आबद्ध इटहरी क्षेत्रका सबै हार्डवेयर पसलहरु आजका लागि बन्द गर्ने भएको छ । संघका अध्यक्ष भोला निरौला तथा सचिव तारा कट्वालद्वारा जारी विज्ञप्तिमा एक दिनका लागि पसल बन्द गरी शोक प्रकट गर्न सम्बद्ध व्यवसायीहरुलाई अपिल गरिएको छ ।