इटहरीः निरन्तर वर्षाका कारण सप्तकोसी नदीको बहावमा तिव्र परिवर्तन देखिन थालेसँगै सुनसरी जिल्ला प्रशासनले सतर्कता अपनाउन नदी आसपासका बासिन्दासँग अनुरोध गरेको छ ।

निरन्तर वर्षा जारी रहेकाले सात ओटा सहायक नदीहरु रहेको सप्तकोसीमा कुनै पनि बेला पानीको बहाव खतराको तहसम्म पुग्न सक्ने भएकाले सर्वसाधारणलाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले बताए । कोसी बराज कन्ट्रोल रुमका अनुसार आज बिहान कोसीको पानीको बहाव एक लाख १४ हजार क्युसेक मापन गरिएको छ । हाल बराजका ५६ मध्ये १४ ओटा ढोका खुला गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

यसअघि बिहीबार बिहान पानीको बहाव एक लाख १९ हजार क्युसेक रहँदा २१ ओटा ढोका खोलिएकोमा बहाव घटेर एक लाख १८ क्युसेकमा पुगेपछि एउटा ढोका बन्द गरी १९ ओटा खुला राखेको कन्ट्रोल रुमले उल्लेख गरेको छ । सप्तकोसीमा हालसम्म अधिकतम सात लाख क्युसेकसम्म बहाव रेकर्ड भएको कन्ट्रोल रुमको तथ्याङ्क छ । बहाव एक लाख ६० हजार क्युसेकसम्म रहे सामान्य मानिने तथा दुई लाख ५० हजार क्युसेकमा पुगे खतराको रुपमा लिइने कन्ट्रोल रुमका अधिकारीहरु बताउँछन् । बहाव तीन लाख ५० हजार क्युसेक पुगेमा खतराको संकेतस्वरुप रातो बत्ति बल्नुका साथै साइरन बज्ने गरेको बताउँदै कन्ट्रोल रुमले बहाव खतराको स्तरमा पुगेपछि सर्वसाधारणलाई सचेत गराउने गरिएको जनाएको छ । वर्षा जारी रहेकाले प्रत्येक दुई घण्टामा बहाव परीक्षण जारी रहेको छ ।