इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन जिल्ला भित्रका सबै १२ ओटा स्थानीय तहलाई निर्देशन दिएको छ ।

हरेक स्थानीय तहले एक थान रबर बोट, ५० थान लाइफ ज्याकेट, चारदेखि पाँच रोल मेन डोरी, १० थान क्यारोबेना हुक, चार थान स्ट्रेचर र पाँच थान रेस्क्यु ट्युब तयारी अवस्थामा राख्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गोताखोर सहितको राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्नुपर्नेछ । यसैगरी, राहत तथा उद्धारमा सक्रिय गैर सरकारी सँस्थालाई पनि तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।

प्रत्येक स्थानीय तहले कम्तिमा दुई ओटा आश्रयस्थलको व्यवस्था गरी उद्धार गरिएका व्यक्तिको तत्कालीन बासको प्रबन्ध गर्नुपर्नेछ । औषधि तथा चिकित्सकको व्यवस्था स्वास्थ्य कार्यालयले गर्नेछ । कटान नियन्त्रणका लागि तत्काल एक हजार थान तार जाली र २० हजार थान बोराको प्रबन्ध सिँचाइ डिभिजन कार्यालयले गर्नेछ । यसैगरी, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ घण्टा सक्रिय बनाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

cdo order1

cdo order2