धरानः लोकप्रिय लोक गायक गंगा वरदानले आफ्नो नयाँ गीत “धराने हावा तोङ्गबाको पानी” युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता– दर्शकहरुले मन पराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो । २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाव्यापी लोक गीत प्रतियोगितामा आफ्नै संकलनमा “दाई त काले भाइ पनि काले” गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा वरदानले २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलव्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा “छपनीले छान छान डबकीले हान” गीत गएर प्रथम भएका थिए भने २०३५ सालमा रेडियो नेपालमा “कहाँमा काट्यो बेतको लौरी” आफ्नै शब्द , संगीत र स्वरमा रेकर्ड गरेका थिए । २०५५ सालमा गंगा वरदान भाग –१ , २०५७ मा भाग –२ र २०६० मा भाग –३ एल्बम बजारमा ल्याएका गायक वरदानले त्यसयता भने कुनै एल्बम तथा गीतहरु बजारमा ल्याएका छैनन् ।

Ganag Bardan

 

अहिले आएर १८ वर्षपछि उनको नयाँ गीत रिलिज भएको छ । हाइकिङ्ग बाबाको रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजीव हलवाईको रचना तथा वरदानकै संगीत रहेको तथा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको उक्त गीतको चाँडै भिडियोसमेत बनाइने भएको छ । उमेरले ६९ टेकेका र गीत –संगीतमा लागेको ५० वर्ष काटेका गायक वरदान आफ्ना केही पुराना गीतहरुसमेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा छन् । हाल आफ्नी श्रीमतिका साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा संगीतकार गंगा वरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानि, जीउको मासु, अरुनै तर्योजस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन् ।