इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्यालयबाट प्रवाह हुने सेवाहरु बार अनुसार पालिका विभाजन गरी प्रवाह गर्न थालेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा विस्तार हुन थालेपछि कार्यालयका सबै सेवा बन्द गरिएकोमा लामो समयसम्म महामारी नियन्त्रणमा नआउँदा सेवाग्राही मर्कामा परेकाले बार विभाजन गरी सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार कार्यालय सञ्चालन हप्ताका ६ दिनलाई प्रत्येक दिन दुई दुई स्थानीय तहका सेवाग्राहीको सेवाका लागि छुट्याइएको छ ।
जस अनुसार आइतबार धरान र इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहानरसिंह गाउँपालिका, मंगलबार वराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिका, बुधबार कोसी र देवानगञ्ज गाउँपालिका, बिहीबार दुहबी नगरपालिका र गढी गाउँपालिका तथा शुक्रबार इनरुवा नगरपालिका र बर्जु गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी जिल्लामा सञ्चालित नापी तथा मालपोत कार्यालयको सेवासमेत यसै तालिका अनुसार प्रवाह हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।