इटहरीः मोरङको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बेलबारीमा अलपत्र भेटिएका एक ज्येष्ठ नागरिकको उद्धार गरेकी छिन् ।
आफ्नो नाम रामबहादुर राई र घर संखुवासभा बताउने ती पुरुषले निषेधाज्ञाका कारण आफू अलपत्र परेको बताएका छन् । विगत दुई महिना अघिदेखि बेलबारी ११ स्थित सुम्निमा चोकको विश्रामालयमा बसेर कष्टकर जीवनयापन गरिरहेका सङ्खुवासभा तुम्लिङटार माथ्लोटार घर बताउने राई दुई महिना अघिदेखि बेलबारीमा अलपत्र परेको थाहा पाएपछि आफूले समय समयमा खाने बस्ने सहयोग गर्दै आएको उद्दारकर्तासमेत रहेका रोशन श्रेष्ठले बताए । आफन्तको घर बेलबारी ७ बाहुनी आएको र आफन्तसमेत घर छोडेर धेरै दिनसम्म नफर्किएपछि आफू अलपत्र परेको रामबहादुरले बताए । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले ज्येष्ठ नागरिक रामबहादुर आफन्तसँग सम्पर्क गराइदिएर घर पुग्न सहयोग गरिदिन आग्रह गर्दै आफ्नो घरमा रुँदै आएकोले उनको पहिचानका निम्ति आफूले अनेक प्रयत्न गरेपनि उनको परिवार र आफन्तहरुसँग सम्पर्क हुन नसकेको बताइन् ।
खाँदबारी नगरपालिकाका नगर प्रमुख, तुम्लिङटारका वडाध्यक्ष टिकाराम कुमालसँग आफूले टेलिफोनमार्फत् पटक पटक उनको परिवार वा आफन्त खोजी गरी उद्धारमा सहयोग गर्न भनेपनि उनको पहिचान नखुलेपछि संरक्षणका लागि मानव सेवा आश्रम विराटनगरसँग समन्वय गरेर बेलबारी नगरपालिकाको व्यवस्थापनमा आश्रम पठाएको उपमेयर पराजुलीले बताइन् ।