केबल साइन्स फिक्सन र काल्पनिक दुनियाँमा मात्र सम्भव ठानिएको उड्ने कार अहिले वास्तविकतामा परिणत भएको छ ।

सोमबार मात्र स्लोभाकियामा आकाशमा उड्न सक्ने गाडीले पहिलोपटक सहरका दुई विमानस्थलबीच भ्रमण पूरा गरेको छ । आठ हजार फिटको उचाइसम्म पुग्न सफल भएको हो । यसको गति १६०.९ किलोमिटर प्रतिघण्टा रहेको थियो । यति मात्र नभएर अवतरण गरिसकेपछि सो कार तीन मिनेटभन्दा कम समयमै ‘स्पोर्ट्स कार’मा परिणत भई भुइँमा गुड्न पनि सफल भएको थियो । त्यसैले यो कार र विमानको हाइब्रिड भएकाले यसलाई ‘एयर कार’ नाम दिइएको छ । यसमा बीएमडब्लुको इन्जिन जडान गरिएको छ भने यो साधारण पेट्रोलबाट सञ्चालन हुन्छ । एयर कारको प्रोटोटाइप १ मा १६० हर्सपावर प्रोपेलर इन्जिनको प्रयोग गरिएको छ । यसलाई स्लोभाकियन फर्म क्लेइन भिजनअन्तर्गत प्रोफेसर स्टेफन क्लेइनले निर्माण गरेका हुन् । यसको ३५ मिनेटको उडानलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा वास्तवमै ठूलो उपलब्धि मानिएको छ, जसले यसको थप उत्पादनका लागि बाटो खुलाउँछ ।

kv2

यसले अहिलेसम्म ४० घण्टाको उडान परीक्षण पूरा गरिसकेको छ । यसको परीक्षणको भिडियोमा हावामा उड्नुअगाडि यो सामान्य गाडीजसरी नै विस्तारै सडकमा गुडिरहेको देख्न सकिन्छ । साथै, यसको आकार पनि साधारण गाडी समानको रहेको छ । तर, अहिलेसम्म व्यावसायिक प्रयोगका लागि भने स्वीकृत भइसकेको छैन । निर्माता प्रोफेसर क्लेइनका अनुसार यो ८,२०० फिटको उचाइसम्म झन्डै १ हजार किलोमिटर उड्न सक्छ । यसलाई विमानबाट साधारण कारमा परिणत हुन केबल २ मिनेट १५ सेकेन्ड मात्र लाग्छ । क्लेइन भिजन फर्मले यो सेल्फ–ड्राइभिङ यात्राका लागि अति उत्तम हुने र व्यावसायिक ट्याक्सी सेवाका रुपमा समेत प्रयोगमा ल्याउन सकिने बताएका छन् ।

kv4

kv3

यसको मूल्यसम्बन्धी भने केही जानकारी दिइएको छैन । तर, अर्को वर्षसम्ममा यसलाई सडक या हावामा उडिरहेको देख्न पाइने अपेक्षा रहेको छ । प्रोफेसर क्लेइनले भनेका छन्, “यो उडानले नयाँ युगको ‘डुअल ट्रान्सपोर्टेसन’ अर्थात् एउटै सवारीसाधनमा दुईथरी माध्यमको सुरुवात गराएको छ ।” निर्माताहरुका अनुसार यसलाई कुनै विशेष ट्रेनिङको आवश्यकता नपर्ने गरी सबै पाइलट या सञ्चालकलाई पहुँच दिलाउन सकिने किसिमले डिजाइन गरिएको छ । यससम्बन्धी सबै कानुनी प्रक्रिया र परीक्षणहरु सम्पन्न भइसकेपछि आगामी १२ महिनामा यो बिक्रीका लागि तयार हुने बताइएको छ । एयर कारको दोस्रो प्रोटोटाइप पनि हाल मर्मत भइरहेको छ । -बीबीसी र डेलिमेलबाट