काठमाडौँः क्षुद्रग्रह दिवस आज (बिहीबार) परेको छ । सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ ।
क्षुद्रग्रह ग्रह पृथ्वीलाई पार गरेर जानसक्ने भएकाले खतरापूर्ण मानिन्छ । दिवसका अवसरमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । सोसाइटीले सन् २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सँग मिलेर दिवस मनाएको थियो । सन् १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङुस्का नामको घटना भएको उनले सुनाए ।
जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनुपर्ने माग सोसाइटीले राख्दै आएको छ । सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान सुरु गरेको हो । यसक्रममा सन् २०२१ को मेसम्म एक हजार एक सय ९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्वमा भएको खोजबाट पत्ता लागेको छ । यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन । -रासस