इटहरी: पाँचथरको फालेलुङ गाउँपालिका–३ माङ्लेबुङस्थित भित्री कच्ची सडकखण्डमा हिजो साँझ भएको ट्र्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
साँझ ५ बजे खाद्यान्न तथा जस्तापाता बोकेको मे १ त ६५७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउनेमा सोही ट्र्याक्टरमा सवार फालेलुङ–३ का ५४ वर्षीय लक्ष्मी बिष्ट रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनको फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा परी ट्र्याक्टर चालक ४० वर्षीय अक्कलबहादुर लिम्बू, ट्र्याक्टरमा सवार ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राईसमेत घाइते भएकोमा उनीहरुको पनि सोही अस्पतालमा उपचार जारी रहेको डीएसपी तिम्सिनाले बताए । उनका अनुसार सडकको जिर्ण अवस्था र वर्षाका कारण चिप्लिएर ट्र्याक्टर सडकबाट तीस मिटर तल खस्दा मानवीय क्षति भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।