इटहरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले वार्तामा आउन आन्दोलनरत पक्षसँग अनुरोध गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आन्दोलनरत कर्मचारी, चिकित्सक तथा विद्यार्थीलाई वार्तामा आउन आग्रह गरेका हुन् । सुनसरीको धरानमा रहेको स्वास्थ्योपचार र चिकित्सा शिक्षामा नेपालकै उत्तम गन्तव्यको रुपमा परिचित बीपी प्रतिष्ठानमा १६ दिनदेखि शुद्धिकरण अभियान प्रारम्भ भएको छ । विभिन्न पक्ष प्रतिष्ठानमा भइरहेको अनियमितताको निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा छन् । आन्दोलनरत पक्षसँग वार्ताका लागि हिजो प्रतिष्ठान आएका उपकुलपति डा. गिरीले मदिरा सेवन गरेको पाइएपछि दिउँसो ३ बजेदेखि सुरु भएको वार्ता बिथोलिएको थियो । ‘यस प्रतिष्ठान प्रतिको तपाईंहरूको माया र निष्ठाप्रति उच्च सम्मान गर्दछु’, उपकुलपति डा. गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’तपाईंहरूको साथ, सहयोग र हाल भइरहेको यस आन्दोलनको बलमा एकताबद्ध भई देशकै गौरव र प्रतिष्ठा बोकेको यस प्रतिष्ठानको विगतको इतिहास, वर्तमान उचाइ र भविष्यमा अझै उचाइको शिखरमा पुग्छ भन्ने विश्वास लिएको छु ।’

उनले प्रतिष्ठानमा व्यक्तिगत स्वार्थबाट लिप्त भएका केहीले समस्याको चंगुलमा फसाएको र त्यसलाई चिर्नको लागि अहिले भइरहेको आन्दोलन सान्दर्भिक भएको विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन । आफ्नो कार्यकालमा कुनै गैरकानुनी काम गरेको भर्ए छानबिन गर्न र दोषी ठहर भए कानुनसम्मत कारबाही गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई नजरअन्दाज गर्दै उनी काठमाडौँ भागेको आन्दोलनरत पक्षको आरोप छ । तर उनले भने प्रतिष्ठानको भलाइका लागि मन्त्रालयसँग लविङ गर्न गएको तर्क गरेका छन् । प्रतिष्ठानमा अहिले देखिएको अन्योल हटाउन सबै पक्ष एकाकार हुनुपर्ने आवश्यकता रहेको भन्दै वार्तामा आउन उनले अनुरोध गरेका छन् ।

received_237865431220667