इटहरीः उदयपुरको बेलका नगरपालिका क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ ।
झडपमा प्रहरी १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेलका वडा नं–३, ८ र ९ का स्थानीयहरु रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायबउपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फका घाइतेहरुको तथ्याङ्क संकलन जारी रहेको उनले उल्लेख गरे । नेपाल सरकारले जेठ ६ गते बेलका नगरपालिका ३ स्थित कोसीटप्पुको करिब १७६ दशमलव २३ हेक्टरमा कबुलियति वन बनाउने निर्णय गरी बराह हर्बल एण्ड एग्रो प्रा.लि.सुनसरीका संचालक निलहरि काफ्लेलाई कबुलियति वनको ठेक्का दिएपछि ठेक्का पाउने काफ्लेले आफूहरुलाई बासस्थानबाट हटाउन खोजेको भन्दै आन्दोलित भएका हुन् ।
प्रदर्शनका क्रममा सयौँको संख्यामा रहेका स्थानीयले नगरपालिकाको गेट र सवारी तोडफोड गरेपछि प्रहरीले २५ राउन्ड अश्रुग्याससहित १० राउन्ड हवाई फायर गरेको स्थानीयले बताएका छन् । नेकपा एमालेका स्थानीय नेता गणेश बस्नेतले बेलका नगरपालिका, बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरी र संघर्ष समितिका सदस्यहरुबीच भएको सहमतिविपरीत स्थानीयलाई मर्का पर्नेगरी काम हुन लागेको भन्दै प्रदर्शन भएको जानकारी दिए । वडा र नगरपालिका दुवैले कबुलियति वन विकासको कार्यक्रम खारेज गर्ने सिफारिस भइसकेकोमा नियोजित रुपमा प्रदर्शन गरिएको आरोप लगाए ।