इटहरीः सवारी ज्यान कसुरमा पक्राउ परेका प्रदेश १ की नेपाली कांग्रेस तर्फकी प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोविन भनिने रविन कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मोरङको विराटनगर महानगरपालिका ५ स्थित बरगाछि घर भएका २४ वर्षीय रविनले चलाएको उनकै आमा बिन्दियाले प्रयोग गर्ने प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट गत जेठ २० गते साँझ ७ः३० बजे एक जनाको ज्यान गएको थियो भने अर्का एक जना घाइते भएका थिए । मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्ला घर भएका ३७ वर्षीय मुकेश शर्मा रहेका थिए । प्रवक्ता राईका अनुसार दुर्घटनामा परी मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीय राजकुमार राजवंशी घाइते भएका थिए । किरिया खर्च बापतको ५० हजार भारतीय रुपैयाँ दुर्घटना गराउने रोविनकी आमाबाट पाएपछि मृतक शर्माका आफन्तले घटनाको भोलिपल्ट उनको शव बुझेका थिए । त्यसैगरी, घाइते राजवंशी पनि नोबेल अस्पतालबाट सोही दिन डिस्चार्ज भएका थिए । राजवंशीको उपचार खर्च पनि प्रदेश सांसद बिन्दियाले नै तिरेकी थिइन् ।
तर, उनले आफ्ना छोराले कार नचलाएको दाबी गरेकी थिइन् । मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पुर्पक्षका लागि कार्कीलाई कारागार चलान गरेको अदालतका स्रेस्तेदार राजकुमार दाहालले बताए । जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त रविनका विरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को (२) र दफा १६२ को (१) को कसुरमा सोही ऐनको दफा १६१ को (२) बमोजिम ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवानाको मागदाबी गर्दै मंगलबार दर्ता गराएको मुद्दामाथि सुनुवाइ गर्दै अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेशसँगै अभियुक्त रोविनलाई मोरङ जिल्ला कारागारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख मञ्जिल मुकारुङले जानकारी दिए । यसैबीच, पक्राउ परेका बेला सवारी चालक अनुमतिपत्र लाइसेन्स नभएको भनिएका अभियुक्त रोविनले बाग्मति प्रदेश यातायात कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार २०७५ कात्तिक १२ गते जारी भएको अभियुक्त रविनको सवारी चालक अनुमतिपत्रको नम्बर ०१–०६–००५४२५१९ रहेको विवरण बाग्मति प्रदेश यातायात व्यवस्था कार्यालयले दिएको छ । दुर्घटनाका समयमा लाइसेन्स नै नभएको भनिएका अभियुक्त रोविनको नाममा रहस्यमय रुपमा बाग्मति प्रेदेशबाट लाइसेन्स जारी भएको पाइएको हो ।