धरानः सुनसरीको धरान उपमहानगरपालिका ५ स्थित देउरालीका प्रदीप सुब्बाको हत्यामा संलग्नताको आरोपमा तीन जना शंकास्पद अभियुक्तहरुविरुद्ध किटानी जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ ।
वैशाख ७ गते घरबाट हराएका प्रदीपको जेठ ५ गते शव भेटिएपछि जेठ ९ गते धरान ५ पत्रङबारीका रामकुमार राई, भरत भुजेल र मंगलसिंह लिम्बूविरुद्ध किटानी जाहेरी लिई इलाका प्रहरी कार्यालय धरान पुगेकोमा प्रहरीले जाहेरी लिन इन्कार गरेको हो । पोस्टमार्टमपछि जाहेरी दिन प्रहरीले गरेको आग्रह अनुसार आफूले जेठ ९ गते जाहेरी लिएर गएकोमा प्रहरीले दर्ता नगरको मृतककी बहिनी कृतिमा बताउँछिन् । आफ्ना छोरा प्रदीप अभियुक्तमध्ये मंगलसिंह लिम्बूको फर्ममा भरत भुजेलसँगै काम गर्ने गरेको पिता सूर्यबहादुर लिम्बूले बताए । धरान १४ मा बस्दै आएका भरत भुजेलसँग आफ्ना छोराको झगडासमेत भएको बताउँदै सूर्यबहादुरले झगडाका क्रममा अर्का अभियुक्त भरतले बिगारिदिएको मोबाइल बनेको र लिन आउनू भन्दै भरतले नै बोलाएपछि प्रदीप मोबाइल लिन अर्का अभियुक्त मंगलसिंहले सञ्चालन गरेको फर्ममा गएकोमा त्यहाँबाट फिर्ता आउन नसकी मृत फेला परेको बताए । आफ्ना छोरा लामो समयसम्म घर नफर्किएपछि वैशाख २७ गते मंगलसिंहको फर्ममा गई सोध्दा मंगलसिंहले आएकै दिन फर्किएको जवाफ दिई आफूहरुलाई फर्काएको सूर्यबहादुरको भनाइ छ ।
हत्याको अभियोग लागेका रामकुमार र मंगलसिंहले दिएको शव भेटिएको सूचनाकै आधारमा प्रहरीले शव उठाएकोमा किटानी जाहेरी लिन भने प्रहरीले इन्कार गरेको मृतककी बहिनी कृतिमाको आरोप छ । यता इलाका प्रहरी कार्यालय धरानले भने उजुरी दर्ता नगरेपनि अनुसन्धान गरिरहेको दाबी गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओली भन्छन्, ‘यो सामान्य घटना होइन्, त्यो अस्वाभाविक रहेको छ, त्यसैले अनुसन्धान भइरहेको छ ।’ घटनामा किटानी जाहेरी परेका व्यक्तिको मात्र संलग्नता रहेको हुनसक्ने भन्दै अनुसन्धानबाट तथ्य बाहिर आएपछि मात्र जाहेरी दिँदा उचित हुने जिकीर गरे । इप्रका धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले भने आफू भर्खरै सोमबारदेखि मात्र कार्यालयको प्रमुख पदमा बहाल भएकाले केही दिनमा विषयवस्तु अध्ययन गरी कानूनी प्रकृया अगाडि बढाइने जानकारी दिए ।