ओखलढुङ्गाः छरिएर रहेका र अव्यवस्थित बस्तिलाई एकीकृत गरी व्यवस्थित बनाउन प्रदेश सरकारले ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ति विकास कार्यक्रम सुरु गर्ने भएको छ ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले यसका लागि प्रदेश सरकारले एकीकृत बस्ति विकास कार्यविधिसमेत पारित गरेको जानकारी दिए । प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका सातवटा गाउँपालिकाको एक–एक ठाउँ र सिद्धिचरण नगरपालिकाको ठाडे, टोड्के, निशंखेलगायत चार स्थानमा नमूना एकीकृत बस्ति विकास कार्यक्रम सुरु गर्ने जानकारी दिए । प्रदेश सरकारको पहलमा जिल्लाको पर्यटकीय गाउँ रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने काम थालिएको छ । भौगोलिक विकटताले सेवा प्रवाहमा कठिनाइ भएकाले एकीकृत बस्तीको कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । मन्त्री गुरुङले भने, ‘अव्यवस्थित र छरिएका बस्तीले नागरिकलाई सेवा प्रवाहमा कठिनाइ भएको छ । तीव्र विकासका लागि पनि एकीकृत बस्ति जरुरी छ ।’ सिद्धिचरण नगरपालिकाको आठौँ नगर सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक हिसाबले जिल्लामा दिगो विकासका लागि नयाँ योजनाहरु ल्याएको बताए ।

‘ओखलढुङ्गाको विकास र समृद्धिका लागि रचनात्मक काम गरिन्छ । यो वर्ष जिल्लाका सबै स्थानीय तहमा नमूना एकीकृत बस्ति विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘पहिलो चरणमा गाउँपालिकामा एक–एक ठाउँबाट र नगरपालिकामा चार ठाउँबाट काम सुरु हुन्छ । त्यो गाउँमा काम सकिएपछि अर्को नजिकैको बस्ती विकासमा योजना सारिन्छ ।’ प्रदेश सरकारले बस्ति विकासका लागि स्थानीय तहसँग समन्वय गर्नेछ  । स्थानीय तह र सरोकारवालाबीच समन्वय तथा छलफलका आधारमै नक्सा तयार गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने कार्यविधिमा उल्लेख छ । यसमा जग्गाको उपलब्धताका आधारमा बस्ती बसालिने छ । आयोजना समन्वय समितिमार्फत् लाभग्राहीको छनोट गरिनेछ । यस्तै, लाभग्राही छनोट गर्दा उनीहरूले बसोबास गरिरहेको स्थानको अध्ययन प्रतिवेदनलाई आधार बनाइने जनाइएको छ । -रासस