धरानः बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्य गर्नुपर्ने माग गर्दै धरान सरोकार समाजले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार समाजले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पनि ज्ञापनपत्रको बोधार्थ पत्र बुझाएको छ । समाजले प्रतिष्ठानमा बेथिति मौलाएको भन्दै सुधार गर्नुपर्ने माग राख्दै मेयर राईलाई ज्ञापनपत्र बुझाएको हो । विभिन्न मागसहित मुख्यमन्त्री कार्यालय प्रदेश १ विराटनगर, प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्रीको कार्यालय काठमाडौँ, सामाजिक विकास मन्त्री कार्यालय प्रदेश १ विराटनगर, स्वास्थ्य सचिव कार्यालय काठमाडौँ, मेयर धरान उपमहानगरपालिका र उपकुलपति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बोधार्थ पत्र बुझाएका छन् ।

२८ वर्षअघि दक्षिण एसियाकै एक उत्कृष्ट चिकित्सा शैक्षिक केन्द्र हुने उद्देश्य लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थापना भएको सरोकार समाजले ज्ञापनपत्रमा उल्लेख गरेको छ । तर, यस गरिमामय प्रतिष्ठानको स्थापनाकालको सोच र लक्ष्य अहिले गुम्दै गएको छ । साथै, ठूलो पूर्वाधारसहित स्थापना भएको यस प्रतिष्ठानमा अस्पतालको सेवाको गुणस्तर खस्कँदै गएको, शैक्षिक स्तरमा ह्रास आएको र उल्टो भ्रष्टाचारको दलदलमा फस्दै गएको गुनासोहरु बढ्दै गएकोले प्रतिष्ठान दिनानुदिन बदनाम हुँदै गएको सरोकार समाजको ठहर छ ।

पछिल्लो केही समयदेखि भएका पदाधिकारी नियुक्तिमा आर्थिक लेनदेन भएको, पदाधिकारी नियुक्तिमा अपनाइने “भ्रष्टाचारको सँस्कृति” जरैबाट उखेलेर प्रतिष्ठानभित्र शुद्धिकरणको थालनी नियुक्तिको विन्दुबाट गर्नुपर्ने, यसका लागि हाम्रो भन्ने मापदण्डलाई त्यागेर उदाहरणीय सदाचारिता भएका र वरिष्ठताका आधारमा आदरयोग्य प्राज्ञिक व्यक्तिलाई उपकुलपति लगायतका पदाधिकारीमा नियुक्ति गर्ने सँस्कृति बसाल्न सरोकार समाजको माग छ ।

उक्त मागहरु पुरा नभए सरोकार समाजले धरान, प्रदेश १ राजधानी विराटनगर र संघीय राजधानी काठमाडौँमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमार्फत् चेतावनी दिएको छ ।

Dharan sarokar samaj

Dharan sarokar samaj 1 Dharan sarokar samaj 2