इटहरीः मोरङ, झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ६ जना पक्राउ परेका छन् ।
मोरङको बेलवारी नगरपालिका–१ हटिया लाइनबाट लागूऔषध ट्याब्लेटसहित ४ जना, झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगरसहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलबारी नगरपालिका–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङलाई डाइजेल्याब १७ एम्पुल, फेनरागन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिजेसिक १७ एम्पुलसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागूऔषध ब्राउनसुगरसहित मेचिनगर नगरपालिका–६ का २७ वर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको हो । यस्तै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ घर भई इटहरी बस्दै आएका ४२ बर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित कोशी गाउँपालिका–१ बाट पक्राउ गरेको हो १ नम्बर प्रदेश प्रहरी प्रवक्ता पहरी उपरीक्षक (एसपी) नवीनराज राईले बताए । पक्राउ परेका सबै अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।