धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले यहाँका पदाधिकारीहरुसँग वार्तामा नबस्ने भन्दै उनीहरुको राजीनामाको माग राखी तालाबन्दी गरेका छन् ।

संयुक्त संघर्ष समितिले आज चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेको छ । हिजो आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर उपकुलपति डा.ज्ञानेन्द्र गिरी मदिरा पिएको अवस्थामा आएपछि आन्दोलन थप चर्किएको हो । संयुक्त संघर्ष समितिले यहाँका पदाधिकारीहरुसँग वार्तामा नबस्ने र चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेको छ । संघर्ष समितिले यहाँ प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न माग गरेको र पदाधिकारीहरु चयन गर्दा योग्य एवं विज्ञहरुको समुह बनाएर उक्त समुहले सिफारिस गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउनसमेत माग गरेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले समस्या समाधान गर्न नसक्दा प्रतिष्ठान नै धरापमा परेको छ । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरु प्रतिष्ठानलाई सुधार्न दुई सातादेखि आन्दोलन गरिरहेका छन् । मागहरु पूरा गर्न संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिँदै सम्बोधन नगरे सामुहिक राजीनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाडौँ जाने घोषणा गरेको छ । उपकुलपति डा.ज्ञानेन्द्र गिरीले हिजो संघर्ष समितिलाई वार्तामा बोलाएका थिए ।

ks

वार्तामा उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पतालका डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र र सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल सहभागी थिए । वार्तामा बसेका अन्य पदाधिकारीहरु विरुद्ध पनि समिति खनिएको हो । संघर्ष समितिले उनको मेडिकल जाँच गर्न माग गरेपनि प्रहरीले हस्तक्षेप गरेर जाँच गर्न दिएन । आन्दोलनरत पक्षले राति करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गरेको थियो । पछि प्रहरीले उपकुलपति गिरीलाई बचाउ गर्दै उनको निवास विराटनगर पुर्याएको थियो । यता, धरान सरुवा भएर आएका डिएसपी नरेन्द्र कँुवरलाई पनि भ्रष्टाचारी उपकुलपति गिरीको संरक्षण गरेको आरोप लगाइएको छ ।