इटहरीः झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रीत लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो । यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय बिमल भुजेल र धरान–१५ का ४१ वर्षीय आइतराज लिम्बूलाई तीन ग्राम ब्राउनसुगर र १ बोतल डाईलेक्स डि.सी. सहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।