इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटाएका एक चिकित्सकको घरमा चोरी भएको छ ।

११ दिनदेखि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमै रहेका मेडिकल अधिकृत डा.पुरनचन्द साहको विराटनगर ४ जामुनगाछिस्थित घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी अनुसन्धानमा जुटेको छ । हालसम्म कुनै पनि अभियुक्त पक्राउ पर्न नसकेको उनले बताए ।

पीडित चिकित्सक डा.साहले आफू अस्पतालमा रहेको र श्रीमति माइतीमा रहेकाले ताला तोडेर घरभित्र प्रवेश गरेको चोरले सुनचाँदी तथा नगद गरी आठ लाख रुपैयाँ बराबरको सम्पत्ति र आफ्नो एमबीबीएस उत्तिर्ण प्रमाणपत्रसमेत चोरी गरेको बताए । आफूहरु घरबाहिर रहेकाले कहिले चोरी भएको भन्नेसमेत जानकारी नभएको उनको भनाइ छ । कोरोना संक्रमितको उपचार गर्ने चिकित्सकलाई दुई सातासम्म अस्पतालमै राख्ने गरिएको छ ।