इटहरीः इटहरीका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी देवेन्द्र श्रेष्ठको निधन भएको छ । उनी ओम पेट्रोल पम्पका सञ्चालक थिए ।

तीन वर्षअघि भारतमा ब्रेन ट्युमरको शल्यकृया गराएका ६९ वर्षीय श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि डेढ महिनायता विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत रहेकोमा हिजो साँझ ०६ः०५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । व्यवसायका साथै समाजसेवामा सक्रिय श्रेष्ठ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्षसमेत थिए । यसका साथै इटहरी जेसिसका पूर्वअध्यक्ष रहेका श्रेष्ठ नेपाली कांग्रेसका मोरङ जिल्ला सदस्यको रुपमा राजनीतिमा पनि सक्रिय थिए ।

उनको इटहरीस्थित गंगा जमुना मुक्ति घाटमा हिजै साँझ अन्त्येष्टि गरिएको छ । देवेन्द्र इटहरीका सफल व्यवसायी रामबहादुर श्रेष्ठ (राम साहु) का छोरा हुन् । व्यवसायी तथा समाजसेवी श्रेष्ठप्रति प्रदेश पोर्टल डट कम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।