धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा.ज्ञानेन्द्र गिरी मदिरा सेवन गरेर आएको भन्दै वार्ता बिथोलिएको छ ।
दिउँसो ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.गिरी मादक पदार्थ सेवन गरी आएकाले हाउभाउ र बोल्न पनि समस्या देखिएपछि संघर्ष समितिले वार्ता छोडेको थियो । वार्तामा बोलाएर उपकुलपति नै मदिरा सेवन गरी आएको र अन्य पदाधिकारीहरु रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित छन् । उनीहरुले उपकुलपतिसहित वार्तामा सहभागी अन्य पदाधिकारीहरुलाई वार्तास्थलबाट निस्कन दिएका छैनन् । उपकुलपतिलाई निजी क्षेत्रको सेक्युरिटि कम्पनी भिआईपीको गाडीमा भगाउन लाग्दा पनि आन्दोलनकारीहरुले रोकेका थिए । वार्तामा उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पतालका डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल सहभागी भएका थिए ।
आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् भने उपकुलपतिसहित चारै जना पदाधिकारीहरुले राजीनामा नदिए वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए । अहिले अवस्था सामान्य नभएपछि जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् । यसैबीच, स्थिति असामान्य बन्दै गएपछि विवाद साम्य बनाउन धरानका मेयर तिलक राई र इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) नरेन्द्र कुँवर उपकुलपतिको कार्यकक्षमा प्रवेश गरेका छन् ।