इटहरीः प्रदेश १ का सार्वजनिक यातायात व्यवसायी र यातायात मजदुरहरुले खोपको व्यवस्था र भाडा समायोजन नभए आफूले यातायतका साधन सञ्चालन नगर्ने बताएका छन् ।

सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीजस्तै यातायात क्षेत्रमा काम गर्नेहरु पनि अब अग्रपंक्तिमा आउने भन्दै सरकारलाई खोपको व्यवस्था यथासिघ्र गर्न व्यवसायी तथा यातायात मजदुरहरुले माग गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नम्बर प्रदेशले मंगलबार पत्रकार सम्मेलन गर्दै सो कुराको माग गरेको हो । अहिले प्रदेश १ मा ४० हजारको हाराहारीमा सार्वजनिक सवारी रहेका छन् । त्यसमा एक लाख जना मजदुर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध भएको महासंघले जनाएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा उनीहरु अग्रपंक्तिमा खटिने भएकाले कोरोना सर्ने उच्च जोखिम रहेको महासंघको ठम्याइ छ । व्यवसायी र मजदुरको सुरक्षाका लागि मात्र नभएर यात्रुको सुरक्षाका लागि पनि यो क्षेत्रलाई खोपको आवश्यकता रहेको उनीहरुको भनाइ छ । ‘पहिलो चरणको कोरोना महामारीमा पनि सरकारले हामीलाई खासै केही गरेन’, सार्वजनिक यातायात केन्द्रीय महासंघ १ नम्बर प्रदेश महासचिव रमेश खत्रीले भने, ‘अहिले पनि सरकारले आवश्यक स्वास्थ्य सुरक्षा नै प्रदान नगरी यातायात सञ्चालन गर्न भनिरहेको छ ।’ यसमा सरकारको कर उठाउने एकल स्वार्थ रहेको उनको आरोप छ ।

अहिले सार्वजनिक यातायात केन्द्रीय महासंघले आगामी १८ गतेबाट यातायातका साधन सञ्चालन गर्ने जनाएको छ । अहिले सार्वजनिक यातायात सञ्चालन नहुँदा यातायात मजदुरहरु मारमा परेका छन् । रोगले भन्दा भोकले मर्ने अवस्था आउन लागेपनि सरकार उदासिन बनेको मजदुर संगठनका प्रतिनिधिहरु बताउँछन् । ‘अहिले रोगले भन्दा भोकले मर्ने अवस्था भएको छ’, भानु मैनाली, उप–महासचिव, अखिल नेपाल ट्रेड युनियन महासंघ भन्छन, ‘तर यस्तो अप्ठ्यारो अवस्थामा पनि सरकारले हाम्रा लागि केही गरेको छैन ।’ उनले अन्य फ्रन्टलाइनरजस्तै यातायात क्षेत्रका मजदुर पनि फ्रन्टलाइनमा खटिने भएकाले महासचिव खत्रीको कुरामा सहमति जनाउँदै खोपको व्यवस्था गर्न माग गरेका छन् । यस विषयमा सरकारले गम्भीर भएर नलागे कानूनी लडाइँमा समेत लाग्न आफूहरु तयार रहेको व्यवसायी र मजदुरका प्रतिनिधिहरु बताउँछन् । अहिले सुनसरीसहित प्रदेश १ मा अन्य सवारीसाधनहरु निर्वाध रुपमा सञ्चालन भए पनि सार्वजनिक यातायात भने सञ्चालन हुन सकेका छैनन् ।