इटहरीः प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले आफ्ना सांसद मोहन खड्कालाई ‘तपाईँ भिजन भएको नेता होइन’ भन्दै व्यक्तिगत रुपमा गालीगलौज गरेको विरोधमा मंगलबारको बैठक अवरुद्ध पारेको नेकपा माओवादी केन्द्रले आजको बैठकमा पनि अवरोध गरेको हो । संसदीय मर्यादाविपरीत व्यक्तिगत रुपमा गालीगलौज गर्ने मन्त्री गुरुङले क्षमायाचना गर्नुपर्ने र उनको अभिव्यक्ति प्रदेशसभाको अभिलेखबाट हटाइनुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले तीन मिनेटमै बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभाको अर्को बैठक असार २० गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रसँग छलफल जारी रहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।