कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएको लामो समयपछि दोस्रो डोज लगाउँदा पनि खोपले भाइरसविरुद्ध उच्चस्तरको सुरक्षा दिने जनाइएको छ ।
एस्ट्राजेनेका खोपको दोस्रो डोज पाउन ढिलो हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली एकैपटक कमजोर नहुने अक्सफोर्ड एस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफोर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले बताएका हुन् । ढिला गरी दोस्रो डोजको खोप लगाउँदा प्रतिरोधी प्रणाली झन् दिगो बन्ने उनको भनाइ छ । उनका अनुसार ५० वर्षमाथिका जोकोहीले पनि खोपको पहिलो डोज पाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । पहिलो डोजले मानिसलाई भाइरसविरुद्ध एकदमै महत्त्वपूर्ण सुरक्षा दिन्छ । तथ्याङ्कका आधारमा खोपको पहिलो डोजमात्रै लगाएकामा पनि डेल्टा भेरियन्टसहित अन्यबाट भेरियन्टबाट सङ्क्रमित भएमा खोपले अस्पताल भर्ना हुनुपर्ने वा गम्भीर बिरामी हुनुपर्ने अवस्थाबाट सुरक्षा दिएको उनले बताएका छन् ।
खोपको पहिलो डोजले दिने भाइरसविरुद्ध उच्चस्तरको सुरक्षा तत्कालै नहराए पनि समयक्रमसँगै घट्दै जाने हुन्छ । जसकारण उन्नत किसिमको सुरक्षा पाउनका लागि दोस्रो डोज पनि लिनुपर्ने उनी बताउँछन् । उनका अनुसार खोपको पहिलो मात्राले तीन वा चार महिनापछि पनि राम्रो तहको सुरक्षा दिने देखिएको छ । ६ महिना वा एक वर्षसम्म खोप लगाउने अवस्था नरहे पनि ढिलो गरी दिइएको दोस्रो डोजले दिने प्रतिक्रिया एकदमै राम्रो हुने अपेक्षा राखिएको छ । नेपालमा झन्डै १४ लाख ज्येष्ठ नागरिक कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेका छन् । कोभिसिल्ड खोप एस्ट्राजेनेका÷अक्सफोर्डले विकास गरेर भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । कोरोना भाइरसको महामारीको उच्च जोखिम देखा परेको नेपालजस्ता देशमा खोप नपुग्नु लाजमर्दो रहेको प्राध्यापक एन्ड्रयु बताउँछन् । -बीबीसीबाट