फरक–फरक कम्पनीको खोपका दुई डोज लगाउँदा पनि कोरना भाइरसविरुद्ध राम्रो सुरक्षा प्रदान गर्ने अध्ययनले दाबी गरेको छ ।
बेलायतमा गरिएको कोम कोभ ट्रायलका अनुसार कोरोना भाइरसविरुद्ध लगाइने दुई डोज खोप फरक– फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने देखिएको हो । फाइजर र एस्ट्राजेनेकाको खोपलाई मिक्स एन्ड म्याच गरेर लगाउने अर्थात् पहिलो डोज एउटा कम्पनी र दोस्रो डोज अर्को कम्पनीको लगाउँदा पनि खोप प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ । एउटै कम्पनीको दुई डोज खोपले जस्तै फरक–फरक कम्पनीको दुई डोज खोपले पनि रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञहरूले दाबी गरेका छन् । परीक्षणको परिणामले पहिले नै एस्ट्राजेनेका खोपको दुई डोज लिएका मानिसलाई फरक कम्पनीको बुस्टर खोप दिएमा प्रतिरोधात्मक क्षमता अझ राम्रो हुनसक्ने सङ्केत दिएको छ ।
खोप आपूर्तिको समस्या भएका देशमा खोप मिक्स गरी प्रयोग गर्न सकिने बेलायतका अनुसन्धानकर्ताले बताएका छन् । स्पेन, जर्मनीलगायत केही देशमा एस्ट्राजेनेका खोपको पहिलो डोज लिएका मानिसमा दोस्रो डोज फरक कम्पनी (फाइजर वा मोडर्ना) को खोप समेत दिन थालिएको छ । पहिलो दोज खोप लिएका मानिसले करिब आठ हप्तादेखि १२ हप्ताबीच अर्को डोज लिनु पर्ने बताइन्छ । मिक्स गरेर प्रयोग गरिएको खोपले थोरै समयका लागि साइड इफेक्टहरूको विकास गर्न सकिने बताइएको छ । दुई फरक कम्पनीको खोप लगाउँदा शरीर काँप्ने, टाउको दुख्ने र मांसपेशी दुख्नेलगायत साइड इफेक्ट देखिन सक्छ । -बीबीसीबाट