इटहरीः आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आजैका दिनबाट कृषकहरुले धान रोप्ने कार्य प्रारम्भ गर्दछन् ।
आजदेखि सुरु भएको रोपाइँ साउन १५ गते समाप्त हुने परम्परा छ । आजको दिनलाई नेपाली समुदायमा दही चिउरा खाने दिनका रुपमा पनि मनाइन्छ । कृषि प्रधान देश हुनुका साथै धान नै मुख्य खाद्य बाली भएकाले २०६१ असार १५ गतेदेखि सरकारले आजको दिनलाई धान दिवसका रुपमा सरकारी स्तरमै मनाउन सुरु गरेको हो । नेपालमा १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धानको खेति गरिन्छ । तर, वैज्ञानिक खेति प्रणाली तथा प्रविधिको अभावमा नेपालले आवश्यकता अनुसार धान उत्पादन गर्न नसक्दा विदेशबाट आयातित चामलबाट देशको खाद्यान्न आवश्यकता पूर्ति गर्नुपर्ने बाध्यता छ ।
नेपाली समाजमा रोपाइँका क्रममा गाइने मौलिक भाकासमेत प्रचलित छ, जसलाई असारे गीत भनिन्छ । किसानहरु रोपाइँका क्रममा हुने थकानलाई बिर्सिएर मनलाई आनन्दित बनाउनका लागि असारे गीत गाउँदै एक आपसमा हिलो छ्यापाछ्याप गर्ने गर्दछन् । असार १५ का दिनदेखि दिन छोटो र रात लामो हुन सुरु हुने भएकाले हिउँदको सुरुवातको रुपमा पनि पूर्वीय सँस्कृतिमा यस दिनलाई लिने गरिन्छ ।