इटहरीः घरमा बसिबसी तालिम लिन पाउँदा इटहरीका महिलाहरु उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिलालाई भर्चुअल प्रविधिवाट कौशी खेतिसम्बन्धी तालिम प्रदान गरेको हो ।
कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सात वटा समूहका एक सय ३४ जनालाई जुम प्रविधिमार्फत् कौशी खेति गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् । इटहरी वडा नम्वर २०,४ र ६ नम्बर वडामा आफ्नै घरमा कौशी खेति गर्नका लागि समूह बनाएका सात वटा समूहका महिलाहरुलाई गंगामाया अधिकारी र विमला राईले तालिम दिएका हुन् । तालिम कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतिको अनुभवबारे जानकारी दिइन् ।
उनले कौशी खेतिको महत्व र फाइदका बारेमा पनि प्रकाश पारिन् । जुम प्रविधिवाट भएको तालिमका सहभागीहरु उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले बताइन् । तालिममा सहभागी इटहरी ६ को उर्जाशील कौशी कृषक समूहकी लक्ष्मी बरालले घरमै बसिबसी तालिममा सहभागी भएर कौशी खेति गर्ने तरिका सिक्न पाँउदा आफनो समूहका १९ जना खुसी भएको बताइन् । घरको छतमै अर्गानिक सब्जि फलाएर उपभोग गर्न आफूहरु हतारिएको उनले प्रतिक्रिया दिइन् । उपमहानगरले तालिमलगायत सहयोग गरेकोमा उनले धन्यवादसमेत दिइन् । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न गठित महिला समूहलाई प्रति समूह दुई लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले बताइन् । कौशी खेति गर्नका लागि आवश्यक समग्री खरिदका लागि रकम उपलब्ध गराइनेछ । थप एक लाखको कौशी खेतिका लागि बीउ खरिद गरेर कृषि महिला समूहलाई दिइने उनले जानकारी दिइन् ।