इटहरीः मोरङको बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थित सरस्वति खड्काको घरमा सञ्चालनमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ९ का २४ वर्षीय मो. इम्तियाज र २५ वर्षीय मो. अनिष हुसेन रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार आज बिहान २ः४५ बजे विभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
हाते औजारसहित पक्राउ परेका उनीहरुलाई चोरी उद्योग कसूरमा मुद्दा चलाउन जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।