इटहरीः कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा थप एक साता यथावत रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले असार २२ गते मध्यराति १२ः०० बजे सम्मका लागि निषेधाज्ञा कायम राख्ने निर्णय गरेको डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज सकिएपछि अर्को सूचना जारी गरी निषेधाज्ञा यथावत राखिएको हो ।

यसैबीच, डीसीसीएमसीले जिल्लामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी मात्र सञ्चालन गर्न सकिने डीसीसीएमसीले जनाएको छ । यसैगरी, खाद्यान्न, तरकारी, फलफूल, माछा मासु तथा दुग्धजन्य पसलहरु बिहान १०ः०० बजेदेखि अपराहन्न ४ः०० बजेसम्म र कृषि थोक बजार बिहान ४ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।