कोरोनाको सबैभन्दा बढी सङ्क्रामक मानिने डेल्टा भेरियन्ट खोप नलगाएकाहरूमा तीव्र गतिमा फैलिरहेको जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अडानोम गेयब्रेससले डेल्टा भेरियन्ट खोप नलगाएकाहरूमा तीव्र गतिमा फैलिएको बताएका हुन् । कोरोनाको अहिलेसम्म देखिएका भेरियन्टमध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी सङ्क्रामक भएको दाबी गर्दै डेल्टा भेरियन्ट विश्वका ८५ देशमा भेटिसकेको उनले जनाएका छन् । डेल्टा भेरियन्ट सबैभन्दा पहिलो पटक भारतमा भेटिएको थियो । यो भेरियन्ट विश्वभर तीव्र रूपमा फैलरहेको हुनाले उनले चिन्ता व्यक्त गरेका छन् ।
भाइरस तीव्र रूपमा फैलरहेका कारण थप नयाँ भेरियन्टहरू विकास हुनसक्छ । डब्लुएचओको एपिडेमोलोजिस्ट मारिया भ्यान करकोभले पनि डेल्टा भेरियन्ट खतरनाक रहेको र अल्फा वा अन्य भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताएकी छिन् । उनका अनुसार डेल्टा भेरियन्ट खोप नलगाएकामा तीव्र गतिमा फैलिरहेको छ । उनले हाल वितरण भएका कोभिडका खोप डेल्टा भेरियन्टसहित सबै भेरियन्टविरुद्धको गम्भीर रोग र मृत्युलाई रोक्न प्रभावकारी रहेको बताएकी छिन् । -इन्डियन एक्सप्रेसबाट