धरान: सुनसरीको धरानमा बीपी प्रतिष्ठानले मागहरु संम्बोधन गर्न कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, नर्स तथा कर्मचारीहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन सुरु गरेका छन् ।
संयुक्त संघर्ष समितिले हिजो आइतबार प्रतिष्ठानका उपकुलपतिबाहेक पदाधिकारीहरुले चढ्ने गाडीको चाबीसमेत खोसेका थिए । उपकुलपतिको कार्यालयनजिक संयुक्त संघर्ष समितिद्वारा अनसन गरिएको छ । प्रतिष्ठानले समयमा तलब नदिँदा धेरै कर्मचारीहरुलाई समस्या भइरहेको बताइएको छ । संघर्ष समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतासमेत सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
उपकुलपति डा. गिरीले प्रतिष्ठानका विकृति विसंगतिका विरुद्ध सामाजिक सञ्जालमा लेखेकै आधारमा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई तीन दिने स्पष्टिकरण सोधेपछि आन्दोलन चर्किएको हो । यता, धरानको नागरिक दबाब सञ्जालले पनि प्रतिष्ठानको विकृति विरुद्ध खबरदारी गरिरहेको भएपनि उपकुलपति राजधानीमा बेपत्ता भएको आरोप लगाएका छन् ।